पोखरा / एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ फागुन १५ देखि १८ सम्म पोखरामा हुने भएको छ । फेस्टिभलको बाह्रौँ संस्करणलाई आयोजक बुकवर्म फाउन्डेसन थप विशेष र उत्साहजनक बनाउने लक्ष्य राखेको छ ।
साहित्यको उक्त ‘कुम्भमेला’ मा यहाँहरूको सहयोग यसअघिका संस्करणहरूमा जस्तै रहने अपेक्षा रहेको आयोजकको भनाइ छ । अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ, जहाँ देश–विदेशका साहित्यानुरागीको जमघट हुनेछ ।
सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्घाटन गर्नेछन् । एनसेल फाउन्डेसनका प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुद्ध एयरले सम्वर्द्धन गरेको छ।
पोखरा महानगरपालिका प्रवर्द्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवर्द्धक छ । त्यस्तै उप–प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैङ्क, ग्लोबल आइएमई बैङ्क र प्रभु बैङ्कले आयोजकलाई साथ दिनेछन्।
यस पटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् । यस पटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचनसँगै फेस्टिभल सुरु हुनेछ ।
उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएाओयू)को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए।
विद्वत् प्रवचनलगत्तै अध्यात्म र सङ्घर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद आकर्षणको केन्द्र बन्ने बुकवर्म फाउन्डेसनको विश्वास छ।
यसैगरी नेपाली सिनेमाका महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ ।
उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण पनि फेस्टिभलको आकर्षण रहनेछ ।
नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा.भगवान कोइरालादेखि म्यागी डोएनसम्मका व्यक्तित्वहरूका प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् ।
म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो घोषित भएकी थिइन् ।
नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ। उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ ।
उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् ।
उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन्।
फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ, जहाँ दैनिक हजारौँ साहित्यानुरागीको सहभागिता रहने अपेक्षा रहेको आयोजकले जनाएको छ ।
सिर्जनाको अर्को विधा चित्रकला सधैँ फेस्टिभलको आकर्षण बन्दै आएको छ । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिनेछन् ।
उनका चित्रले फेस्टिभलमा विशेष रङ थप्ने हाम्रो विश्वास छ ।
“सधैँ जस्तै यसपटक पनि हामी शब्दसँगै सङ्गीतको तालमा झुम्नेछौं । परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई सङ्गीतमय बनाउनेछ,” आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साङ्गीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै, नेपाली सङ्गीत जगत्का पप–सम्राटका रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् ।
परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने साङ्गीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ ।
काठमाडौँ विश्वविद्यालयको सङ्गीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको सङ्गीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय सङ्गीतको समिश्रण सुन्न सकिन्छ ।
फेस्टिभलमा वरिष्ठ वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुनेछ। उमेरले ८९ टेकेका सिंहको यो उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ।