जनकपुर / नेकपा एमालेका केन्द्रिय सचिव रघुवीर महासेठले नेता माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पार्टीको नीति कार्यक्रम विदेशीको इसारामा बन्ने गरेको आरोप लगाएका छन् ।
जनकपुरधाममा शनिबार आयोजित वडा केन्द्रीत पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता महासेठले नेकपा एमाले पार्टीको नीति कार्यक्रम जनताको चाहना अनुसार बन्ने गरेको बताएका हुन् ।
उनले एमालेमा १५ वर्षसम्म नेता भएर बसेका माधव कुमार नेपाल र प्रचण्डको पार्टीले विदेशी इसारामा नीति कार्यक्रम बनाउने गरेको आरोप लगाए ।
नेकपा एमाले आज जुन ठाउँमा छ त्यो यही जनता र पार्टीको धेय बुझेर पार्टीका लागि समर्पित रहेका नेता कार्यकर्ताहरूको कारणले रहेको जिकिर गरे । उनले पार्टी छोडेर अर्को पार्टी निर्माण गरेकाहरूको अहिलेको अवस्था कस्तो छ भनेर प्रश्न गरे ।
त्यस्तै नेता महासेठले पार्टीले गरेका कामहरूबारे जानकारी आमजनतालाई नभएकोमा गुनासो गरेका छन् ।
एमालेले गरेका विकासका कार्यहरूबारे जनता अनभिज्ञ रहेको उनले धारणा व्यक्त गरे । उनले जनतालाई अहिले पनि विकास निर्माणका कामहरू अर्कै पार्टीले गरेको भन्ने भ्रम रहेको बताए ।
नेता महासेठले प्रचार प्रसारको कमीका कारण यस्तो भ्रम सिर्जना भएको जानकारी दिए । उनले सम्पूर्ण नेता कार्यकर्तालाई पार्टी र पार्टीले गरेका विकास निर्माणका कार्यहरूबारे सामाजिक सञ्जाल लगायतमा प्रचार प्रसार गर्न निर्देशनसमते दिए ।
नेता महासेठले सम्पूर्ण कार्यकर्तालाई सासक नभई सेवक बनेर जनताको घर घर र टोल टोलमा पुग्न निर्देशन दिए ।
उनले ८४ लाई मध्ये नजर गर्दै पार्टीलाई मजबुत बनाउने तर्फ सबैलाई ध्यानदिन आग्रह गरे । नेता महासेठले प्रचार डेस्क बनाएर पार्टीको प्रचारमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिए ।