काठमाडौँ / डिएभी बि.सी.ए. कलेजको तेस्रो संस्करणको बि.सी.ए. अन्तर–कलेज फुटसल कपको तयारी पूरा भएको छ । पुस २९ गतेदेखि फुटसल कप डिएभी कलेज परिसरमा सञ्चालन हुने बि.सी.ए. अन्तर–कलेज फुटसल कपको तयारी पूरा भएको हो ।
खेलकुदका माध्यमबाट बि.सी.ए. कलेजहरूबिच एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित हरेक वर्ष बि.सी.ए. अन्तर–कलेज फुटसल कप सञ्चालन गरिएको डिएभी बि.सी.ए कलेजका प्रोग्राम कोर्डिनेटर सुदीप अधिकारीले जानकारी गराए ।
खेल आयोजनाको सम्पूर्ण जिम्मेवारी डिएभी बि.सी.ए. कलेज सम्बद्ध वीज्जी डिएभीएन्स् क्लबले लिएको छ र खेल मैदान एन्फा आबद्ध रेफ्रीको नियन्त्रणमा रहनेछ ।
तेस्रो संस्करणको फुटसल कपमा काठमाडौँ उपत्यकाका बि.सी.ए. कलेजहरूका ३२ टीम सहभागी हुनेछन् । प्रथम विजेता टीमलाई १ लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र सर्टिफिकेटद्वारा सम्मान गरिनेछ ।
त्यसैगरी दोस्रो विजेता टिमलाई ७५ हजार नगद पुरस्कारसहित ट्रफी मेडल र सर्टिफीकेटद्वारा सम्मान गरिनेछ । साथै व्यक्तिगत तर्फ, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ट्रफीद्वारा सम्मान गरिनेछ ।
माघ २ गते तय भएका अन्तिम चरणका खेलहरूसँगै विशेष अर्वाड समारोह आयोजना गरिनेछ र तेस्रो बि.सी.ए कपको विधिवत रुपमा समापन हुनेछ ।