उर्थु लेकमा च्याउ देखेँ महाभारतमा देखेँ
च्याउ नै रोपेँ, जिन्दगीमा च्याउ कै गीत लेखेँ
च्याउका दुःख भोगेँ मैले, सम्भावना खोजेँ
परिस्थिति यस्तै आयो यहि जीवन रोजेँ।
जङ्गल जाँदा खोजेँ च्याउ टहरामा रोपेँ
मनमुटु जताततै च्याउ कै ट्याटु खोपेँ
सपनामा च्याउ देखेँ विपनामा भोगेँ
जान्नेसँग सोध्नु पर्दा च्याउकै कुरा सोधेँ।
छोराछोरी पढेँ च्याउले च्याउ खादै हुर्केँ
च्याउमा जान्ने छस भन्दा म पनि फुर्केँ
तालिम दिन सक्ने भए सके जति गएँ
च्याउ आन्दोलनको हेर्दाहेर्दै अगुवा नै भएँ।
महत्त्व छ च्याउको हजुर च्याउ खाने गरौँ
आफ्नै स्रोतबाट बन्छ च्याउ खेती गरौँ
आत्मानिर्भर बन्छ देश संसारको नामी
गुच्ची फल्छ रातो फल्छ यार्सा झनै दामी।
म्याजिक मसरुम फलाएर संसारमा पठाउँ
च्याउ खेती गर्न लगाइ गरिबीलाइ घटाउँ
कुनै कुरा सानो हुन्न सोच ठूलो गरौँ
बाँझिएको जमिनमा च्याउ खेतीले भरौँ।
उत्पादन ठुलो भए उद्योग यहि बन्छ
रोजगार पाएपछि युवा यहि रन्छ
देश बन्छ च्याउबाट सबै जना लागौँ
ढिला भयो हजुर अब सबै जन जागौँ।
[ लेखक प्रेम नारायण च्याउ किसान हुन् उनी लामो समय च्याउखेती गर्दै आइरहेका छन् । च्याउ खेतीका अभियान्तासमेत रहेका उनी नेपाल च्याउ किसान संघका पूर्व अध्यक्षसमेत हुन । किसान महासंघमा समेत आवद्ध उनकै कारण आज देशभर च्याउ किसानहरु उम्रिएको मानिन्छ । ]
च्याउ किसानहरुले प्रत्येक वर्ष पुस १५ गते च्याउ दिवस तथा परिकार महोत्सव मनाउँदै आएका छन् । यसै सन्दर्भमा उनको कविता प्रकाशन गरिएको हो ।