images
images

च्याउ महोत्सव : सयदेखि ३० हजार रुपैयाँसम्मको च्याउ, च्याउको चिया, मःमदेखि सुकुटीसम्मको स्वाद

च्याउ महोत्सव : सयदेखि ३० हजार रुपैयाँसम्मको च्याउ, च्याउको चिया, मःमदेखि सुकुटीसम्मको स्वाद

सोमवार, पुस १५ २०८१
सोमवार, पुस १५ २०८१
  • च्याउ महोत्सव : सयदेखि ३० हजार रुपैयाँसम्मको च्याउ, च्याउको चिया, मःमदेखि सुकुटीसम्मको स्वाद
    images
    images

    काठमाडौँ / च्याउ उत्पादक किसान सङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा छैटौँ  ‘राष्ट्रिय च्याउ दिवस’ आज भव्यताका साथ मनाइँदैछ । च्याउ दिवसकै अवसरमा आयोजित च्याउ महोत्सवमा च्याउका विविध परिकारसँगै, च्याउका जातहरू अध्ययन अवलोकन गर्नुका साथै साङ्गीतिक मनोरञ्जनको समेत व्यवस्था छ । 

    महोत्सवमा प्रतिकिलो एक सय रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म पर्ने विभिन्न प्रकारका च्याउ बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन् ।

    बिक्री तथा प्रदर्शनीमा राखिएका च्याउहरूमध्ये सबैभन्दा सस्तो कन्य च्याउ रहेको छ । मध्यम मूल्यमा डल्ले च्याउ, राजा च्याउ र सिताके च्याउ छन् भने सबैभन्दा महँगो गुच्छी च्याउ रहेको छ । एक किलो गुच्छी च्याउको मूल्य ३० हजार कायम गरिएको छ ।

    महोत्सवमा किसानका साथै च्याउसम्बन्धी अध्ययन गर्न चाहने विद्यार्थी, शिक्षक, अनुन्धानकर्ता, संघसंस्थाका व्यक्तिहरूको घुइँचो छ । 

    त्यस्तै, महोत्सवमा च्याउ मात्रै होइन च्याउको खाउँखाउँ लाग्ने च्याउको परिकारहरू पनि छन् । यहाँ च्याउको चियादेखि च्याउको मःम, च्याउको छोइलादेखि च्याउको सुकुटीसम्मको परिकारको स्वाद लिन सकिन्छ।

    मेला आयोजनाका लागि करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने करिब १५ हजारले मेलामा अवलोकन गर्ने अनुमान गरिएको छ ।

    नेपालमा हाल करिब ३५ हजार किसान च्याउखेतीमा आवद्ध रहेकासमेत सङ्घले बताउँदै आएको छ । नेपालभर विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब रु १५ अर्ब तथा च्याउको बिउ उत्पादन गर्ने ल्याबको सङ्ख्या ६७ रहेको छ । 

    सङ्घका अनुसार नेपालका ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन हुने गरेको छ। च्याउ उत्पादक किसान सङ्घ नेपालले २०७६ पुस ९ गतेदेखि पुस २९ गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरेको थियो।

    पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा यसै महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउन सङ्घ र च्याउ उत्पादक किसानले दबाब दिँदै आएका छन् ।

    विसं २०७६ पुस १५ गते बागमती प्रदेशको राजधानी हेटौँडामा सञ्चालन भएको मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ यसैका लागि भएको सङ्घले जनाएको छ।

    सोही दिन च्याउ सङ्घ र किसानको अनुरोधलाई स्वीकार गर्दै बागमती प्रदेश सरकारले प्रदेशस्तरमा च्याउ दिवसको विधिवत् घोषणा गरेको थियो । 

    सोही अनुसार  हरेक वर्ष पौष १५ गते यस किसिमको कार्यक्रम आयोजना गर्दै आइरहेको सङ्घले जानकारी दिएको छ । किसानले आफैँ च्याउ उत्पादन गर्ने र त्यसको उचित व्यववस्थापन पनि आफैँले गर्नुपर्ने बाध्यता रहेको च्याउ उत्पादक किसानहरूले बताउँदै आएका छन् । 

    खुला बजार अर्थनीतिका कारण नेपाली किसानहरूको उत्पादन बिश्व बजारका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । 

    देशैभर च्याउको कारोबार १५ अर्ब रुपैयाँ हाराहारी रहेको सङ्घका अध्यक्ष सन्तोष कार्कीले बताए ।उनकाअनुसार अहिले दैनिक गोलो च्याउ ८ देखि १० हजार केजी उत्पादन हुँदै आइरहेको छ । 

    यस्तै कन्ये च्याउ ४० देखि ५० हजार केजी उत्पादन हुँदै आइरहेको सङ्घले जनाएको छ । अब १० दिनपछि च्याउ सस्तिने समेत अध्यक्ष कार्कीले बताए । बढी उत्पादन भएर लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेको उनको भनाई छ । 

    त्यस्तै, सिताके च्याउको न्य्रन उत्पादन भइरहेको उनले बताए । 

    च्याउको व्यवसायिक उत्पादनमा सरकारले वेवास्ता गरेको गुनासो गर्दै अध्यक्ष कार्कीले भने, “सुरुवाती समयमा सामान्य सहयोग भए पनि  च्याउखेतीले व्यवसायिक रूप लिँदा सरकारले पर्याप्त सहयोग गरेको देखिदैन ।” 

    च्याउको अनुसन्धान केन्द्र आवश्यक भएको अध्यक्ष कार्कीले बताए । उनले भने, “हाम्रो जंगलमा बहुमूल्य च्याउन कुहिएर गइरहेको छ, त्यसलाई सरकारको पहलमा व्यवसायिक रूपमा उत्पादन गर्न थाल्नुपर्छ भनेर माग गर्दै आएका छौँ, तरसर सुनुवाई हुन सकेको छैन ।” 

    उनले च्याउ दिवसलाई संघ सरकारले पनि घोषणा गरेर कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले किसानले करिब १८ घण्टा च्याउमा काम हुने भएकाले एक दिन च्याउ उत्सवका रूपमा मनाउनका लागि सरकारले चासो दिनुपर्ने उनले बताए  ।

    कृषि मन्त्रालयले बिमामा करिब ७५ प्रतिशत अनुदान दिएकोमा च्याउको बिमा गर्न बीमा कम्पनीहरूले मान्ने नगरेको गुनासो अध्यक्ष कार्कीले जानकारी दिए । 

    यसमा सहजीकरण आवश्यक भएको औँल्याउँदै उनले च्याउ उत्पादन गर्नका लागि पनि उचित नीति आवश्यक भएको बताए । उनले थपे, “कुन किसिमको च्याउ खेती गर्ने ? त्यसको कसरी बजारीकरण गर्ने भन्ने विषयमा सरकारले नीति ल्याउनुपर्छ ।”

    च्याउ आत्मनिर्भर बन्ने दिशामा अगाडि बढेको उनले बताए । डल्ले च्याउमा अब आत्मनिर्भर बन्ने अवस्था सिर्जना भइसकेको उनले बताए । 

    दुई चार वर्षमै आत्मनिर्भर बन्न सकिने उनको दाबी छ । तर सरकारले यसलाई उचित पहल गरिदिएर अगाडि बढ्न सक्नुपर्नेमा उनले जोड दिए । राज्यले सहयोग नगरिदिँदा यस्तो अवस्था नआउने उनको भनाइ छ ।

    उनले भने, “आत्मनिर्भरताको यो यात्रामा सरकारले साथ दिएमा मुुलुक छिट्टै च्याउ आयात गर्नुपर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थामा पुग्ने विश्वास छ । विगतको तुलनामा आयात घटिरहेको छ ।” 

    रैथाने च्याउका जातहरूबारे जानकारी तथा  विविध स्वादका च्याउहरू खान पाइने उक्त महोत्सवमा खेती गर्न चाहनेहरूका लागि पनि आवश्यक परामर्शसमेत दिने व्यवस्था छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार