काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने कास्कीबाट हिरासतमुक्त भए पनि संसद्बाट भने निलम्बित नै रहनेछन् । उनीविरुद्ध परेका मुुद्दा अदालबाट अन्तिम किनारा नलागेसम्म लामिछाने सांसद पदबाट निलम्बित नै हुने भएका हुन् ।
धरौटीमा रिहा भएका उनको सांसद पद तत्काल फुकुवा हुनेछैन । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएसँगै उनी सांसद् पदबाट निलम्बित भएका थिए ।
सभामुख घिमिरेले लामिछानेको निलम्बनबारे पुस ८ गते जानकारी दिएका थिए ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४ को दफा २७ मा रहेको व्यवस्थामा संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक थुनामा रहेको अवधिभर र निज उपर मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने व्यवस्था रहेको छ ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीशनीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटी माग गरेको थियो । ६५ लाख धरौटी तिरेर रवि बिहीबार राति थुनामुक्त भएका छन् । उनी स्थलमार्ग हुँदै आजै काठमाडौँ आइपुग्ने बताइएको छ ।