काठमाडौंको थापाथलीमा मेलम्चीको खानेपानीको पाइप फुटेर भएको क्षतिको मुल कारण विगतमा नेपाल विद्युत प्राधिकरणबाट विद्युतलाइन भूमिगत गर्नका लागि सडक खनेर पाइप विच्छ्याउँदा सावधानी नअपनाएको कारणले भएको ठहर आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई. चन्द कुमार श्रेष्ठले बताएका छन् ।
थापाथली चोकबाट पूर्वतर्फ प्रसुति गृहतर्फको सडक मुनी बिच्छ्याइएको मेलम्चीको पानी थोक वितरण प्रणालीको पाइपलाइनबाट आज विहान पानी निस्कदा सडक तथा नजिकका घर बाढी पसेको थियो ।
विद्युतलाइन भूमिगत गर्नका लागि पाइप विच्छ्याउँदा मेलम्चीको पाइपको तल, माथि, दायाँ र बायाँ कम्तीमा एक मिटरको दूरी राख्नुपर्ने विगतको समझदारी विपरित प्राधिकरणले सडक खनेर मेलम्चीको पाइपमाथि नै विद्युतको पाइप राखेको पाइएको र त्यसक्रममा मेलम्चीको पाइपमा चोट लागेको स्थलगत अध्ययनबाट देखिएको विज्ञप्तिमा उल्लेख छ ।
एक दिनअघि बानेश्वर क्षेत्रमा पाइपलाइन मर्मतका लागि माइतिघरस्थित भल्भ बन्द गरिएको र ललितपुरको ज्वागलमा रहेको एयर भल्भ पनि बन्द रहेकै अवस्थामा एकान्तकुनाबाट माइतिघरतर्फ पानी आउँदा चाप बढ्न गई चोट लागेको ठाउँमै मेलम्चीको पाइप फुटेको पाइएको छ ।
आज विहान ५ः२० मा पाइप फुटेर सडकमा पानी निस्कना साथ आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्राविधिकहरू खटाई त्यस क्षेत्रको पानी प्रवाह बन्द गरिएको थियो ।
यसैगरी, काठमाडौं महानगरपालिकाले सडकमा जमेको पानीको निकासको व्यवस्था मिलाएको र सडकमा जम्मा भएको बालुवा, गिट्टी र माटो सफा गर्ने काम पनि महानगरपालिकाबाट नै भएको विभागले जनाएको छ ।