काठमाडौँ / साताको तेस्रो कारोबार दिन मङ्गलबार पनि सेयर बजारले उकालो यात्रा जारी राखेको छ । सोमबार १९.५६ अङ्कले बढेर २६९८.०३ बिन्दुमा पुगेको नेप्से परिसूच आज १२.६८ अङ्कले बढेको छ । यससँगै नेप्से परिसूचक २७४०.५९ बिन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज सेयर कारोबार रकमसमेत बढेको छ । सोमबार १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएकोमा आज सो रकम बढेर १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ पुगेको हो।
आज १४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८७ वटाको मात्रै बढेको छ । त्यस्तै, ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन ३१४ धितोपत्रको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर ९९ हजार ५८५ पटकमा खरिद बिक्री भएको छ ।
अन्य सेक्टरमा झुम्मिए लगानीकर्ता
मङ्गलबार कारोबारमा आएका १३ सेक्टरमध्ये ६ वटा सेक्टरको परिसूचक घटेको छ भने ७ वटाको बढेको छ । यता, अन्य इन्डेक्समा लगानीकर्ताहरू झुम्मिएका छन् ।
आज सबैभन्दा बढी अन्य समूहको परिसूचक ३.६८ प्रतिशत, जीवन बिमा समुहको १.७४ प्रतिशत, लगानी समूह १.२५ प्रतिशत, व्यापारिक समूह ०.४१ प्रतिशत, निर्जीबन बिमा समूह ०.३० प्रतिशत, बैंकिङ उपसमूह ०.२२ प्रतिशत र हाइड्रो पावर ०.०३ प्रतिशतले बढेको छ ।
यता, सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक १.७४ प्रतिशतले घटेको छ भने वित्त समुह १.५० प्रतिशत र होटल तथा पर्यटन समूह १.०४ प्रतिशतले घटेको छ । अन्य तीन समूहको परिसूचक पनि आज सामान्य घटेको छ ।
३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
मङ्गलबार ३ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.६५ प्रतिशतले बढेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा आज पनि नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, १०.२५ प्रतिशत ब्याजदर रहेको केबिएल डिवेन्चर २८६ को सेयर मूल्यमा पनि आज नेगेटिभ सर्किट लागेको छ ।
मङ्गलबारको कारोबार रकममा हिमालयन रिइन्स्योरेन्सको हिस्सा सबैभन्दा बढी छ । यो कम्पनीको मात्रै आज ८२ करोड २ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो । हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य ९३६ रुपैयाँ छ ।
यसैगरी, नेपाल पुनर्विमा कम्पनीको ५१ करोड ६८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य एक हजार ५५ रुपैयाँ रहेको छ ।