images
images

विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने, कति पायो रेटिङ ?

विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने, कति पायो रेटिङ ?

चुक्ता पुँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासन प्रस्ताव

सोमवार, फागुन ५ २०८१
सोमवार, फागुन ५ २०८१
  • images
    images
    विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने, कति पायो रेटिङ ?
    images
    images

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने भएको छ । प्रिमियमसहित प्रतिकित्ता करिब ३ सय रुपैयाँ कायम गरी सेयर निष्कासनको प्रस्ताव गरिएको हो । 

    प्राधिकरणले चुक्ता पुँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासन प्रस्ताव गरेको छ। 

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणलाई सेयर निष्कासनका लागि महत्वपूर्ण मापदण्डका रूपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको र वास्तविक सम्पत्ति मूल्याङ्कन गरिसकेको उल्लेख गरेका छन् । 

    इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । प्राधिकरणको लगातार तेस्रो पटकको ‘डबल ए प्लस’ रेटिङ हो । 

    उनले सरकारबाट स्वीकृति पाउनासाथ सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन सकिने जनाए । उनका अनुसार सेयर निष्कासनबाट सङ्कलन गरिएको रकम ठुला जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने योजना छ । 

    उनले विद्युत् उत्पादनतर्फका आयोजना निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि आवश्यक ठुलो पुँजी संस्थाले कमाएको नाफा र सेयर निष्कासनबाट प्राप्त हुने रकमबाट पूरा गर्ने योजना रहेको उल्लेख गरे ।

    प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वलगायतको विश्लेषण गरी रेटिङ गरिएको प्राधिकरणले जनाएको छ । 

    ‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहने र त्यस्तो संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुने जनाइएको छ । 

    निर्देशक घिसिङले तीन वर्षदेखि निरन्तर ‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्न सफल भएको र यसबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो एवं ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको बताए । 

    साथै प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग वहन गर्न सक्ने क्षमतामा देखिएको घिसिङले उल्लेख गरे। प्राधिकरणको वार्षिक आम्दानी एक खर्ब १६ अर्ब र सम्पत्ति सात खर्ब रुपैयाँभन्दा बढीको छ । 

    आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपियाँ खुद नोक्सानीमा रहेकोमा २०७३/७४ मा एक अर्ब ५० करोड रुपियाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरु गरेको दाबी गरेको छ ।

    प्राधिकरणले गत आव २०८०/८१ मा  १४ अर्ब ४६ करोड रुपियाँ नाफा कमाएको थियो । आव २०७२/७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ। 

    प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा झरेको थियो । आव २०७२÷७३ मा प्रणालीबाट २५.७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार