सोल / दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न पुर्जी जारी भएको छ । डिसेम्बर ३ मा मार्शल ल लगाउने उनको प्रयासलाई लिएर सोलको एउटा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
मार्शल ल लगाएको विषयमा यूनमाथि विद्रोह र देश द्रोहको अभियोगमा कयौं अनुसन्धान भइरहेको अनि विगत दुई हप्तामा सोधपुछका लागि भएको बोलावटलाई यूनले वेवास्ता गरेकै समयमा पक्राउ पुर्जी जारी भएको छ ।
आइतबार राति अनुसन्धानकर्ताहरूले राजद्रोह गरेको अनि शक्ति दुरुपयोग गरेको अभियोगमा यूनलाई पक्राउ गराउन खोजेका थिए । यस कदमलाई यूनका वकिलले चाहिँ गैरकानूनी भनिरहेका छन् । मार्शल ल लगाउने यूनको असफल प्रयासपछि दक्षिण कोरिया राजनीतक संकटमा फसेको छ ।
यो कदमपछि संसदले यूनलाई महाभियोग लगाएर पदच्यूत गराएको थियो । त्यसपछि कार्यबाहक राष्ट्रपति बनाइएका प्रधानमन्त्री हान डक–सुलाई पनि दुई हप्ता नबित्दै महाभियोग लगाएर हटाइयो । पक्राउ पुर्जी जारी हुने यून दक्षिण कोरियाका पहिलो सत्तासिन राष्ट्रपति हुन् ।
उनको पक्राउका लागि अनुसन्धानकर्ताहरूसँग जनवरी ६ सम्मको समय छ । उनीहरूले यसको अवधि लम्ब्याउन पनि सक्छन् । यूनको सुरक्षा टोली र उनीसमर्थक विद्रोहीहरूले विफल पार्ने प्रयास गर्ने भएकोले अनुसन्धानकर्ताहरूले यूनलाई समात्न सक्छन् भन्ने चाँहि अहिले अस्पष्ट छ ।
यस अघि राष्ट्रपति कार्यालय र यूनको निजी आवासमा अदालतले अनुमति दिएको छापा मार्न अनुसन्धानहरू छिर्ने प्रयास गर्दा राष्ट्रपतिको सुरक्षा सेवाले रोकेको थियो । यूनले राष्ट्रपतिको संवैधानिक अधिकारअन्तर्गत मार्शल ल लगाएकोले अनुसन्धानकर्ताहरूसँग उनलाई पक्राउ गर्ने अधिकार नभएको यूनको कानुनी टोलीले सोमबार भनेको थियो ।