काठमाडौँ / पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान विभागको छ ।
साथै उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको छ।
वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्नसक्ने बताए ।