काठमाडौँ / सरकार भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने भएको छ । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा भूमि बाहेकका पाँच वटा अध्यादेश मात्रै पेश गरिने भएको हो ।
सत्ता साझेदार दलबिच भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभामा पेश गर्ने सहमति भएको हो ।
सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वटा अध्यादेशमात्र संसदबाट पास गर्न लागिएको हो । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो ।
त्यसअघि गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएका थिए ।
जसपा र लोसपाले भूमि बाहेकका अध्यादेश अघि बढाउन सहयोग गर्ने भएपछि सरकारले उक्त विधेयक हाललाई थाँती राख्ने भएको हो । सत्तारुढ दल जसपा नेपाल र लोसपा सहमत नभएपछि सरकार पछि हट्न बाध्य भएको हो ।