images
images

कलाकार विदेशिए : खुमन अधिकारी

कलाकार विदेशिए : खुमन अधिकारी

प्रतिस्पर्धा धेरै नै छ । खुट्टा तान्ने प्रवृत्ति पनि छ ।  सय प्रतिशतमा २५ प्रतिशत मात्रै सपना पूरा भएको छ । अझैँ ७५ प्रतिशत सपनाहरू अधुरा नै छन् ।

शनिवार, माघ १२ २०८१
शनिवार, माघ १२ २०८१
  • images
    images
    कलाकार विदेशिए : खुमन अधिकारी
    images
    images

    खुमन अधिकारी चर्चित लोकदोहोरी गायक हुन् अर्थात लोक संगीतका क्षेत्रमा रूचाइएका श्रष्टा हुन् । १० हजार बढी गीतमा स्वर दिइसकेको उनी अत्यन्तै व्यस्त गायकका रूपमा पनि परिचित छन् । देश, विदेश, मेला महोत्सव, रोधी घर आदी स्टेजहरूमा खुमनको माग बढ्दो छ ।  ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रूमाल चिनो लैजाउ बैनालाई’, ‘एउटै डोरी पासो लगाम भो’, ‘सिलाइ दिउला भोटो’, ‘स्याङ्जालीलाई नभन जाली’, लगायतका चर्चित गीत दिएका अधिकारीसँग नेपाल न्यूज बैंकले लोक संगीतको पछिल्लो अवस्थाबारे कुराकानी गरेको छ ।

    पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?

    पछिल्लो समयमा विभिन्न मेला महोत्सवमा दौडधुप छ । र आफ्नै युट्यूब च्यानल खुमन अधिकारीमा ‘बाहुनको र्झोले’ एउटा नयाँ गीत ल्याएको छु । भर्खरै आएको गीतलाई अत्याधिक रूचाइएको छ ।

    गीतमा लाइक कमेन्ट सकारात्मक आएको छ । गीत मौलिक परिवेशमा रहेकाले रोधीमा बसेर, वारीपारी गाउँमा बसेर मादल बजाएर सुन्न र नाच्ने किसिमको छ । विशेषगरी मगर र गुरूङ समुदायमा बढी प्रचलित संस्कारमा आधारित गीत भएकाले रूचाइएको छ । 

    तपाईं सांगीतिक क्षेत्रमा कसरी आउनुभयो ?

    बच्चा अवस्थामा वा जान्ने हुँदादेखि नै लोक गीत गुनगुनाउँथे । स्कुल पढ्दा विभिन्न कार्यक्रमहरूमा भाग लिन्थेँ । लोक गीतको प्रतिस्पर्धामा सहभागी हुन्थे । त्यस्ता प्रतिस्पर्धाहरूमा जहिले प्रथम हुन्थेँ । आक्कलझुक्कल कहिलेकाहीँ दोस्रो नि हुन्थेँ । तर  मेरो  घर  र समाज सबै लोक गीतमय नै  थियो ।

    मेरी आमाले असाध्यै राम्रो  लोक गीत गाउनुहुन्छ । त्यही  गुणले  पनि लोक संगीतमा आएको हुँ । पढाइको  शिलशिलामा काठमाडौँमा आएपछि सपना पूरा गर्दैछु । 

    सांगीतिक क्षेत्रमा प्रवेश गर्न कत्तिको सहज या असहज भयो, यहाँसम्म आइपुग्दा कस्तो महसुस गर्दै हुनुहुन्छ ?

    मेरा सपनाहरू अझै पूरा भए जस्तो लाग्दैन । किनभने मान्छे अघि बढ्दै जाँदा कहाँसम्म पुगिन्छ थाहा नै हुँदैन । चूलीमा पुग्न त अझैँ बाँकी नै छ । अझैँ दौडिरहेको छु । भर्खर चार खुट्टाले हिँड्दैछु ।

    कुनै पनि काममा सफलता मिल्नको  लागि सहजै  सहजता हुँदैन । धेरै अप्ठ्यारा चुनौतिहरूको सामना गर्नैपर्छ ।  गीत संगीतमा पनि संर्घष त गर्नैपर्छ ।  यसमा पनि प्रतिस्पर्धा धेरै नै छ । खुट्टा तान्ने प्रवृत्ति पनि छ ।  सय प्रतिशतमा २५ प्रतिशत मात्रै सपना पूरा भएको छ । अझैँ ७५ प्रतिशत सपनाहरू अधुरा नै छन् । 

    पहिले तपाईँ संगीत क्षेत्रमा आउँदै गर्दाको अवस्था र अहिले आउनेहरूका लागि के कस्तो फरक पाउनु भएको छ ?

    मैले औपचारिक रूपमा २०६३ सालदेखि नै गीत गाउन थालेको हुँ ।  पछिल्लो  समय  आएका गायक गायिकाहरूले झ्याप्प आउने र पैसा खर्च गराएर गीत रेकर्ड गराइ नै हाल्छन् । त्यसैले अहिले गीत गाउन सजिलो  छ । तर  त्यसबेला अहिलेको जस्तो  सजिलो थिएन ।

    पहिला जुन गायक गायिकको गीत हिट भयो त्यहीँ मात्र खोजेर गाउन लगाउने चलन थियो । नयाँलाई खासै मौका दिने प्रचलन थिएन । त्यतिबेलाको माहोलमा धेरै भीडेर गीत रेकर्ड गराउनु पर्दथ्यो । पहिला पहिला चलेका गायक गायिकाहरूले मात्र गीत गाए भने मात्र चल्छ नत्र चल्दैन भन्ने थियो ।

    अहिले त राम्रो गीत जसले गाए नि चल्छ । प्रतिभा राम्रो हुनुपर्यो, स्वर राम्रो हुनुपर्यो, त्यसको मेलोडी, एरेन्जमेन्ट, म्यूजिक भिडियो राम्रो हुनपर्यो । त्यसैले त्यो बेलाको र अहिलेको समय धेरै नै फरक छ । अहिले  गीत गाउन सहज छ जस्तो लाग्छ । जब मैंले गीत गाउँदै गएँ र गीतहरू चल्दै गए अनि मलाई खोज्न थालियो । एकै दिनमा १४ वटा गीत रेकर्ड गराएको मलाई याद छ । जुन समय अडियो बिक्री हुन्थ्यो, त्यो समय क्यासेछ ‘ए’ र ‘बी’ साइट भन्ने हुन्थ्यो ।

    त्यो  समयसँग जुध्दै गर्दै आएको  हो । त्यसैले समय आकाश पातलको फरक भइसकेको छ । अहिले टेक्नोलोजीले परिवर्तन ल्याएको छ । अहिले सबैको हात हातमा मोबाइल, आफ्नो युट्यूब च्यानल बनाइसकेका छन् । र आफ्ना सबै कुराहरू युट्यूबमा पोस्ट हुन्छन्  आफ्नो गीत गाउने अनि युट्यूबमा हाल्ने गरिन्छ । समाजमा परिवर्तन आएको छ । पछिल्लो  समयमा सहज प्रविधि आएकाले सजिलो भएको छ । 

    वाल्यकाल रहँदा कतै स्टेज कार्यक्रम वा गाउँघरका विहे बटुलोतिर गीत प्रस्तुत गरेको अनुभुवहरू स्मृतिमा छन् ?

    गीत गाउँदै  जाने क्रममा म जहिल्यै प्रथम हुन्थेँ । प्रथम नभए दोस्रो त अवश्य हुन्थें । स्याङ्जाको इलोङ्गा भन्ने ठाउँमा लोक गीत प्रतियोगिता थियो, त्यहाँ गीत गाउन हाम्रो समू गएको थियो । त्यहाँ गीत गाउदा जहिल्यै प्रथम भइरहने मान्छे हाम्रो समुह तेस्रो भयो । म नजिकै बसेर रिजल्ट सुनिरहेको थिए । अन्तिमबाट रिजल्ट सुनाइरहनु भएको थियो, तेस्रो नम्बरमा हाम्रो नाम आयो ।

    प्रथम र दोस्रो त अरू नै भए । म त्यो बेला किन प्रथम भइन भनेर धेरै दुखी भएको थिएँ । किन भएन, के कुरामा कमजोरी भयो भनेर म रोएको छु । त्यो क्षणचाँही म सम्झन्छु । अहिल्यै अग्रपंक्तीमा सफलता मिलिरहँदा एक्कासी पछाडि पर्दा भावुक भइँदोरहेछ । त्यो पल अहिले पनि सम्झन्छु । पैसा नभएर धेरै तनाव व्यहोरेको छु । गीत गाएर अलि तल पर्दा त झन छाँगाबाट झरेको जस्तो हुन्थ्यो । 

    लोक संगीतले आफ्नो मर्म विर्सेर उश्रृङ्खल हुन थाले, दोहोरीका नाममा विकृति बढ्यो भन्ने गुनासो छ । तपाईलाई के लाग्छ ?

    गीत संगीतमा विकृतिको कुनैपनि मापदण्ड छैन् । अहिले यतिसम्म चाँही ठिक हो , यो भन्दा बढी भयो भने विकृति हो भन्ने मापन भएको छैन् । साथीहरूले विभिन्न किसिमका गीतहरू गाइरहनुभएको छ । हाम्रो एउटा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान छ । त्यसको उपाध्याक्ष पनि छु । विकृतिजन्य प्रस्तुतीहरू आउँदा तीनलाई रोक्नका लागि विभिन्न किसिमका उपायहरू पनि अपनायौं ।

    त्यस्ता खालका गीतहरू रेकर्डिङ स्टुडियोमा रोकेर हुन्छ या लाइभ दोहोरी स्टुडियोमा कडाइ गरेर अथवा म्यूजिक भिडियोमा कुनमा कस्तो खालको विकृति आएको छ, त्यसमा अध्ययन गर्ने गर्छौँ । कुनै शब्दमा अपाच्य खालको, कुनै सिधै दोहोरो अर्थ लाग्न खालका हुनसक्छन् । कस्तो खालको गीत रेकर्ड भएको छ त्यसमा बुझेर हामीले समाजमा अपाच्य खालका गीतहरू रोक्ने प्रयास त गरेका छौँ । सबै गीतहरूलाई रोक्यौ त भन्न नसकिएला तर केही गीतहरूचाँही रोकेका छौँ ।

    धेरै कलाकारहरू सजक पनि हुनुभएको छ । समाज र परिवारसँग बसेर हेर्ने नसकिने गीत ल्याउनचाँही हुँदो रहेनछ भन्ने बुझ्नु भएको छ । त्यसलाई कसैले राम्रो भन्दैन रहेछ भनेर सजक पनि भएको देखिन्छ । हामी जस्तो मान्छेहरूले त्यस्तो खालको गीतहरूबाट अलि टाढै रहेको राम्रो हुन्छ । राम्रो सृजना, वास्तविक मौलिकतालाई आधार मानेर अगाडि बढ्दा हुन्छ भन्ने लाग्छ । 

    दोहोरी संगीतको शैलीमा के के परिवर्तन आएको छ ?

    पहिले र अहिले त धेरै परिवर्तन छ । पहिला भन्दा अहिले अझै सहज छ । पैसा हुनेलाई त झन अझै सहज छ । पछिल्लो समयमा प्रतिभा भन्दा पनि संगीत बजार अलि बढि पैसामुखी भएको हो कि भन्ने पनि लाग्छ । जसले धेरै खर्च गर्यो, बुस्ट हान्यो, म्यूजिक भिडियोमा अत्याधिक खर्च गर्यो त्यो चलेजस्तो देखिन्छ । हुनपनि पैसा हुनेले त्यो गर्नु राम्रो होला तर राम्रो प्रतिभाहरू मरिरहेको छन् । ती प्रतिभाहरू पनि अगाडि आउनुपर्छ ।

    त्यसैले पहिला र अहिलेमा फरक भनेको पूरै टेक्नोलोजीमा परिवर्तन आएको हो । अर्को कुरा संगीत क्षेत्रमा प्रवेश गर्ने आधार नै फरक भइदियो । पहिला बुझेर, एकदमै अध्ययन गरेर, सबैसँग सल्लाह लिएर कसरी कुन बाटोमा अगाडि जाने हो भनेर सोचेर अगाडि बढ्ने गरिन्थ्यो, अहिले अन्धाधुन्ध प्रवेश गरिन्छ । जे पर्छ पर्छ ठोकौँ भन्ने हिसाबले झ्याम्म हामफाल्ने प्रबृत्ति छ । यतातिर चाहीं अलि विचार पुर्र्याउनुपर्छ जस्तो लाग्छ।  

    मेला महोत्सवमा भाइरल प्रस्तुति बढी रूचाउने गरिन्छ । यसले सबै कलाकारलाई राम्रो गरेको छ या विभेद ?

    एउटा गीत जसोतसो गायो अनि राम्रो चलिदियो भने भाइरल भइहाल्यो, अर्को गीत चल्ने नचल्ने ठेगान हुँदैन् । तर त्यस्तो कलाकारलाई खोज्ने चलन छ । उसले गएर स्टेजमा ड्याङ ड्याङ आधा घण्टा एक घण्टा गाउँनु पर्यो भने त्यही एउटा गीत मात्र गाएर त पुग्दैन नि ।

    अरु गीत पनि गाउनुपर्छ । मेला महोत्सवमा जाने सुरु र अन्तिममा आफ्नो गाउन बाँकी सबै अरुको गीत गाएर फर्किने गरेको पनि पाएको छु । एउटा राम्रो पक्षचाँही के होइन भने आयोजक टिमले पनि कलाकार र कलाकारितालाई नबुझेको हो कि भन्ने चाँही मलाई लाग्छ । किनकी धेरै राम्रो र सदावहार हिट गीतहरू गाउने कलाकारहरू मेला महोत्सवमा व्यस्त नभएर एउटा दुई वटा मात्रै गीत गाउनेलाई मात्र खोज्ने प्रचलन अलि बढि छ । 

    तपाईँका कति गीत आए बजारमा ? आफ्ना कति आए र अरूका कति गाउनु भयो ?

    वास्तवमा आफ्नो गीत भनेर धेरै गीत गरिन् । जब आफ्नो यूट्युब च्यानल खोले त्यसपछि सबैले आफ्नो आफ्नो गर्ने रहेछ भन्ने लाग्यो । म पनि गर्न पर्यो भनेर कस्सिए । आफ्नो लगानीका गीत, आफ्नै च्यानलमा राख्न थालेँ । पहिला लगभग आठ नौं हजार गीत त अरूको नै गाइयो ।

    दिनकै १३–१४ वटा गीत रेकर्ड नै गरियो । ०६३ देखि ७० सम्म त त्यसरी नै गाइरहेको थिएँ ।  त्यसपछि टेक्नोलोजीले परिवर्तन ल्यायो, यूट्युबको मार्केट आयो । त्यसपछि रेकर्डिङ गर्ने, भिडियो बनाउने सिधैँ युट्युबमा राख्ने समय आयो । सबैले आफ्नो लगानी गर्दा, आफैँ गाउन पनि थाल्नुभयो । अहिले कम भएको मात्र हो तर अझै पनि बुझेको मान्छेले खोजी रहनु भएको छ । मैले पनि निरन्तरता दिएको छु । 

    तपाईँका गीतहरूले कस्तो सन्देश प्रवाह गर्छन् ? 

    म पश्चिमको मान्छे, पश्चिमेली लोकलयमा आधारित गीतहरू गाएको छु । पूर्वतिर चल्ने भाकाहरू गाएको छु । १०–१२ वटा काँठ क्षेत्रमा चल्ने भाका गएको छु । काठमाडौं उपत्यकामा चल्ने अलि फरक भाकामा ८/९ वटा गीत गाएको छु ।

    त्यसपछि सांस्कृतिक गीतहरू गाएको छु, सालैजु, कौडा, भजन, रोइला, पञ्चेबाजा जस्त सांस्कृतिक गीतहरू र सेलो पनि गाएको छु । पछिल्लो समय लोक गीतलाई पनि केन्द्रीत गरेर फिल्मका गीतहरू बनाउन थालिएको छ । फिल्मका बढी चलेका हरेक गीतहरू लोकमा नै आधारित छन् । नयाँ दुईवटा फिल्ममा लोकमा नै आधारित गीतहरू गाएको छु । समग्रमा सबै क्षेत्रका गाउने प्रयास गरिरहेको छु । 

    हजारौँ गीत गाउनुभयो, आफुलाई चाँही सबैभन्दा बढि मन परेको कुनै गीत छ ?

    सबै गीतहरू राम्रा छन् । मलाई खुमन अधिकारी भनेर चिनाउने ‘मनमा देउतैले नरोउ भन्ने हजाराँं भेटियो, रूवायो एउटैले’ भन्ने गीत हो । यो २०६३ सालमा बजारमा आएको थियो । त्यसपछि ‘त्यो मन रुन्न होलार मलाई जस्तो तिमलाई नि भा थ्यो रे भेटै हुन्न होला र’ यो मलाई धेरै नै मन परेको भाका हो । 

    दोहोरी गीतले नेपाली समाजमा सांस्कृतिक पहिचान र संस्कारको संरक्षणमा कत्तिको भूमिका खेलिरहेको छ ?

    यसको संरक्षण गर्ने नै लोक गीतले हो । अन्य गीतहरूले पनि गर्यो होला गरेको छैन भन्दिन । तर लोक गीत भनेको लोकको भाका हो नि त । लोक गीतले हाम्रो जनजनको कथा बोकेको हुन्छ । माटो बोकेको हुन्छ । विरहका भाकाहरू बोकेको हुन्छ र यथार्थ चित्रण गरेको हुन्छ । हाम्रो देशको कला, संस्कृति, संरक्षण गर्ने भनेकै लोक गीतले जस्तो लाग्छ । 

    दोहोरी गीतहरूले देशको पहिचान र संस्कृतिको संरक्षण गर्छ भन्नुभयो । सरकारी पक्षबाट चाँही यसको संरक्षणमा कत्तिको ध्यान पुगेको छ जस्तो लाग्छ ?

    सरकारी पक्षबाट त हामी एकदमै पिछडिएका छौँ । विकसित देशमा हेर्ने हो भने एउटा गायक गायिकाले गाएको गीत चल्यो भने उसको जीवन बन्छ । उसलाई जीवनभर घर–गाडी, गार्डसहितको सुविधा दिने व्यवस्था हुन्छ । छिमेकी देश भारतमा नै संगीतको कस्तो बजार छ, सरकारले त्यसलाई प्राथमिकतामा पनि राखेको छ । नेपालमा त्यही व्यवस्था नभएर त कतिपय कलाकारहरू विदेशिएका छन् । कति अग्रज र सबैको मनमा बसेका कलाकारहरू अमेरिका गएर बस्नु भएको छ । 

    सरकारी पक्षबाट उहाँहरूलाई सुविधा दिने र त्यही अनुसारको नीति नियम बनाई दिएको भए कलाकारहरू देश बाहिर जान पर्दैन् थियो । कलाकारहरू गीत चलेसम्म ठिक नचलेपछि के गर्ने भनेर विकल्प खोज्न हिड्नुहुन्छ । यसका पछाडि सरकारी तहबाट हामीलाई केही सुविधा छैन । कुनै राजनीतिक क्षेत्रलाई आधार बनाएर गरिएको कार्यक्रममा कुनै चर्चित कलाकारलाई बोलाइएको छ भने प्रधानमन्त्रीभन्दा पनि कलाकारको महत्व धेरै हुन्छ । त्यस्तो कुरा सरकारले नबुझ्दा धेरै पछाडि परेका छाँै । नेपालमा कलाकार भन्दा पनि बढि आम जनताले पीडा भोग्नु परेको छ । यो पनि नेताहरू र राजनीतिकै कारणले हो । 

    राजनीतिक क्षेत्रमा यति धेरै समस्या छ । राम्रो गर्नेलाई अघि बढ्न दिइदैन । नेपालको राजनीतिले गर्दा गर्दा जनता जहिले पछाडि नै परिरहेका छन् । 

    हामी यस्तो देशमा छाँै कि चाहेर केही पनि हुन सक्दैँन । आफ्नो ठाँउबाट र आफ्नो लागि त गर्ने हो, गरिरहेका छौँ । तर अरूको लागि केही गरौं, बोलौं भन्ने हो भने माथिल्लो तहमा भएको मान्छेले जे पनि गर्न सक्छन् । हामी त्यही भएर चुप लागेर बस्नुपर्छ । कलाकार पनि यही अवस्थामा छौँ । कलाकारिता क्षेत्र यस्तो फस्टाइरहेको छ, सबैको मनमा छ तर चर्चा पाएको कलाकारको यहाँ कुनै महत्व हुदैँन । उसले गाउन सक्दासम्म र क्षमता हुँदासम्म गाउँछ त्यसपछि अब के गर्ने होला भनेर बाटो खोज्नुपर्ने हुन्छ । 

    तपाईँले अहिलेसम्म कति देशमा कति प्रस्तुति दिइसक्नुभयो ?
     
    म अमेरिका बाहेक अरु देशमा धेरै पटक गइसकेको छु । हरेक देशमा कार्यक्रमहरू पनि गरेको छु । अमेरिका अझसम्म पुग्या छैन । अमेरिकाबाट भनेको जस्तो कार्यक्रम आएको छैन । धेरै देशमा धेरै कार्यक्रमहरू गरे तर अमेरिकामा कार्यक्रम गर्ने मौका मिलेको छैन ।
     
    नेपालको विभिन्न भेगमा फरक फरक प्रकारका दोहोरी गीत गाइन्छ । तपाईँले गाउने गीत कस्ता हुन् ? 

    हरेक गीतले एउटा सन्देश दिएको हुन्छ, चर्चाको हिसाबमा हेर्ने हो भने माया पिरतीको गीतले अलि बढि चर्चा पाउने भएको हुनाले त्यस्ता गीतहरूलाई धेरै फोकस गरेका छौँ । तर शिक्षामूलक, सन्देशमूलक गीतहरूलाई बढि प्राथमिकता दिएको छौँ । मौलिकतालाई ध्यानमा राखेर नै धेरै गाउने गरेको छौँ ।

    लोक संगीतका लागि साधना, अध्ययन र अनुसन्धान कतिको जरूरत पर्ने रहेछ ?

    मान्छेहरू केचाहीँ भ्रममा हुनुहुन्छ भने लोक गीत गाउनेहरूले सिक्नुपर्दैन, पढनु पर्दैन यिनीहरूले सिकेका हुँदैनन्, पढेका हुँदैनन् भन्ने कतिपयले भनिरहनु भएको हुन्छ ।  क्षमता हो भन्ने बुझ्नपर्छ । मैले सानैदेखि गाउथे भने मलाई कसैले सिकाउनु पर्यो त ? तर आधुनिक गाउनेले त सुनेर साधना नगरी त गाउन सक्दैन ।

    लोक गीत गाउनेहरूले पनि सबैले अध्ययन गर्नुभएको छ । सबैले सिक्नुभएको छ, सबै पढेलेखेको हुनुहुन्छ । त्यसैले लोक गीतको बजार फस्टाइरहेको छ । सबैजना नाचिरहनुभएको छ । मेला महोत्सवहरू पनि लोग गीतमय बनेका छन् । 

    मौलिक र रैथाने संस्कार/संस्कृतिलाई लोक संगीतले कत्तिको न्याय गरेको छ ?

    न्याय त गरिरहेको छ । पुरानै खालका चलिरहेका भाकाहरूलाई टपक्कै टिपेर ल्याएर रेकर्डिङ गर्ने अनि बजार व्यवस्थापन गर्ने चलन छ । अहिले मैले गाएको बाहुनको झोर्ले भन्ने गीतमा गाउँघरको मौलिकपन छ, साँझमा महिलाहरूले पछ्यौरी ओडेर, उतापट्टि केटाहरूले टक्क कम्मल वा बर्को ओडेर, मादल बजाएर गाइने भाकाको गीत तयार भएको छ । त्यसैले लोकगीतले नै गर्दा त्यो पूराना सङ्कलित भाकाहरूलाई संरक्षित गरिरहेको छ । 

    संगीतमा आउने नयाँ साथीहरूलाई के सुझाव छ ?

    भर्खरै लोक गीत संगीतमा पाइला टेक्कुभएको छ भने जोसैजोसमा नलाग्नुहोला  बुझेर लाग्नुहोस् । आफ्नो मूल्याङ्कन आफैँले गर्नुपर्छ । आफ्नो मूल्याङ्कन आफँैले गर्न सकेन भने अरुले मूल्याङ्कन ठिक गर्न पनि सक्छ, गलत गर्न पनि सक्छ । आफनो मूल्याङ्कन आफैँ गर्नुस् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार