काठमाडौँ / सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.३५ अङ्कले बढेको छ । आइतबार ११.६६ अङ्कले बढेको बजार आज सामान्य अङ्कले बढेर २७५८.७५ बिन्दुमा उक्लिएको हो ।
गत सातादेखि सुस्तरी सुस्तरी उकालो यात्रा तय गरेको सेयर बजार आज छैटौँ कारोबार दिन पनि बढेको हो । सेयर बजार बढ्दा कारोबार रकम सामान्य घटेको छ ।
अघिल्लो दिन ११ अर्ब ५४ करोड ८३ लाखको कारोबार भएकोमा आज ११ अर्ब ८ करोड ५४ दाख ६४ हजार रुपैयाँको मात्रै कारोबारार भयो ।
९२ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने ९ को स्थिर रह्यो । यता, १४३ कम्पनीको सेयर मूल्य भने घटेको छ ।
सोमबार ३१० धितोपत्रको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर खरिद बिक्री भएको छ ।
सोमबारको बजार समग्रमा अन्य समूहले उचालेको देखिन्छ । १३ ओटा समूहमध्ये ४ वटाको मात्रै परिसूचक बढेकोमा आज अन्य समूह सबैभन्दा धेरै २.५ प्रतिशत बढ्यो ।
त्यस्तै, लगानी ०.९८, उत्पादन ०.९७ र बैंकिङ ०.०९ प्रतिशतले बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.२१ प्रतिशत घटेको छ ।
विकास बैंक ०.०९, होटल तथा पर्यटन ०.८७, हाइड्रोपावर ०।१५, जीवन बीमा ०.९२, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.७४ र व्यापार ०.२६ प्रतिशत घटे ।
सोमबार पनि गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । १० प्रतिशतले बढेर यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५८ रुपैयाँ २० पैसा पुगेको छ ।
त्यस्तै, राप्ती हाइड्रोको ९.४, बोटलर्स नेपाल बालाजुको ८, नेपाल हाइड्रो डेभलपर्सको ७.१ तथा नेपाल पुनर्बीमा कम्पनीको मूल्य ६.४ प्रतिशतले बढेको छ ।
यता, विन नेपाल लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ३ हजार ७७९ रुपैयाँ १० पैसा कायम भएको हो ।
यसैगरी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ५.४२, लक्ष्मी लघुवित्तको ५.३८, रिलायन्स फाइनान्सको ४.६८ तथा एनएलजी इन्स्योरेन्सको ४.४८ प्रतिशतले सेयर मूल्य घटेको छ । कारोबार रकममा पुनर्बीमा कम्पनीहरू शीर्ष स्थानमा छन् ।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ८९ करोड ३५ लाखको कारोबार भई शीर्ष स्थानमा छ भने पुनर्बीमाको ८० करोड ६७ लाखको कारोबार भएको छ ।