काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशमा रहेका एवं त्यहाँका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको बताएका छन् ।
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद प्रतिक्षा तिवारीले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले जयनगर–जनकपुर–कुर्था–विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माण कार्य सम्पन्न भइ यात्रुबाहक रेलसेवा दैनिक संचालनमा आएको बताएका हुन् ।
उनले भने, “तराई मधेशमा रहेका एवं त्यहाँका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको छ । यी आयोजनाहरूले तराई–मधेश क्षेत्र मात्र नभएर समग्र देशको आर्थिक एवं सामाजिक विकासमा योगदान पुर्याउने भएकोले देशकै राष्ट्रिय गौरवका आयोजनाहरू हुन् ।”
स्रोह्रौँ योजनामा यी आयोजनालाई प्राथमिकताका साथ समाबेश गरिएको उनले बताए । प्रधानमन्त्री ओलीले थपे, “आवधिक योजनाको लक्ष्य अनुरुप हरेक वर्ष नीति तथा कार्यक्रम एवं बजेटमा पनि यस्ता आयोजनामा उल्लेखनीय बजेट विनियोजन गरी आयोजना कार्यान्वयनमा संलग्न निकायहरूलाई क्रियाशिल बनाइएको छ । जयनगर–जनकपुर–कुर्था–विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भई यात्रुबाहक रेलसेवा दैनिक संचालन भएको छ ।”
साथै उनले जयनगर–जनकपुर हरेक दिन तीन पटक र जनकपुर–विजयपुरा दिनको एक पटक आउने–जाने गरी रेल सेवा दिइएको समेत बताए ।
उनले थप विजयपुरा–बर्दिबास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्न लागेको समेत जानकारी गराए ।
“जयनगर–जनकपुर हरेक दिन तीन पटक र जनकपुर–विजयपुरा दिनको एक पटक आउने–जाने गरी रेल सेवा दिइएको छ । थप विजयपुरा–बर्दिबाससम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्दैछ,” उनले भने, “काठमाडौँ–तराई मधेश द्रुत मार्गलाई शीघ्रताका साथ सम्पन्न गर्न नेपाली सेनालाई यसको जिम्मेवारी तोकिएको छ । यस आयोजनालाई छिटो सम्पन्न गर्ने सम्बन्धमा सम्बद्ध निकायका उच्च पदाधिकारीहरूसँग पटक पटक छलफल गरी तीव्रताका साथ कार्यान्वयन गरेको छु । यस आयोजनाको हालको भौतिक प्रगति ३७.६ प्रतिशत रहेको छ ।”