कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले साढे दुई बर्ष कैद सजाय तोकेको छ। शुक्रबार जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई बाल यौन दुरुपयोग कसुरमा २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो।
कृषिविज्ञ राईमाथि आफैले सञ्चालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउण्डेसनका किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोग थियो।
यौन दुरुपयोग कसुरमा अदालतले राईलाई गत माघ १० गते कसुर ठहर गरेको थियो।
फाउण्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीय किशोरीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई २०८० वैशाख २९ गते पक्राउ परेका थिए।
७५ वर्षीय राइले आफ्ना संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूको आरोप थियो ।
मुद्दाको फैसला नभएसम्म फाउण्डेसनमा जान नपाउनेगरी उनी २०८० जेठ २२ गते पुर्पक्षका लागि ४ लाख धरौटी तारेखमा रिहा भएका थिए।
आरोपितविरुद्ध २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोग सम्बन्धी अभियोग पत्र दायर गरेका थिए। अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार जरिवाना माग गरिएको थियो।