काठमाडौँ / नेपाल वायुसेवा निगमले मर्मतसम्भर गरि पूर्णरूपले उडान योग्य भए पश्चात यात्रुुहरूको सुरक्षालाई ख्याल गरी उडान सञ्चालन गर्दै आएको प्रष्टिकरण दिएको छ ।
आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण जनाउँदै आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
निगमले अन्तर्राष्ट्रिय उडानहरू विमान निर्माता कम्पनी तथा नियमनकारी निकायको मापदण्डअनुसार मर्मतसम्भार गरिरहेकाले यात्रुहरूलाई कुनै समस्या नपर्ने जनाएको छ ।
निगमको वाइडबडी विमानमध्ये ९एन–एएलजेड नियमित रूपमा उडान गरिरहेको जनाएको छ । यस्तै, वाइडबडी ९एन–एएलवाईले बेलुकादेखि काठमाडौँ–दिल्ली उडान गर्ने जनाएको छ ।
निगमको न्यारोबडी ९एन–एकेडब्ल्यू चीनको शेन्याङ सीचेक प्रक्रिया पूरा भएको र आवश्यक कस्टम क्लियरेन्समा ढिला हुन गएको जनाएको छ । उक्त विमान शनिबार नेपाल आउने निगमको भनाइ छ ।
अर्को न्यारोबडी ९एन–एकेएक्स विमानको नोज ल्यान्डिङ गियर मर्मत गरी शनिबार नै नेपाल आउने निगमले जानकारी दिएको छ ।
निगमको आन्तरिक उडानमा प्रयोग हुने ९एन–एबीयू ट्विनअटर विमानको इन्जिन प्रतिस्थापन ४ मार्चसम्म सकेर नियमित उडानमा आउने र अर्को ट्विनअटर विमान ९एन–एबीटीको पनि इन्जिन प्रतिस्थापनपछि नियमित उडानमा आउने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“प्राविधिक समस्याका कारण सिर्जना भएको यस कठिन परिस्थितिमा यात्रुहरूमा पर्न गएको असुविधाप्रति निगम क्षमायाचना गर्दछ,” निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यात्रुहरूको सुविधालाई ध्यानमा राखेर आफ्नै उडान वा उपलब्ध भएसम्म अन्य वायुसेवामार्फत गन्तव्यमा पुर्याइदिने कार्य भइरहेको छ ।”