वीरगन्ज / वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।
गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ ।
गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।
मुलुकभर रहेका साना र ठुला २८ भन्सार नाकामध्ये वीरगन्ज भन्सार नाका हुँदै भएको निर्यातको हिस्सा भने ३१ दशमलव ७२ प्रतिशत रहेको छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवमा प्रशोधित सूर्यमूखि र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताए ।
“गत आवको तुलनामा चालु आवमा निर्यातमा उत्साहजनक ढङ्गले वृद्धि हुँदै आइरहेको छ”, उनले भने।
वीरगन्ज भन्सार नाका हुँदै चालु आवको सात महिनाको अवधिमा १९ अर्ब ३६ करोड रुपैयाँ मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएको छ ।
त्यस्तै सोही अवधिमा ४ अर्ब ६३ करोड रुपैयाँ मूल्य पर्ने प्रशोधित सूर्यमूखीको तेल निर्यात भएको छ ।
३ अर्ब ९६ करोड रुपैयाँ मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । त्यस्तै गरी ३ अर्ब १२ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
१ अर्ब ६० करोड रुपैयाँ मूल्य पर्ने सिन्थेटिक यार्न र १ अर्ब ४७ करोड रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका कपडा विदेशी मुलुकमा निर्यात भएको छ ।
सोही अवधिमा १ अर्ब २२ करोड रुपैयाँ मूल्य पर्ने पशु आहारको कच्चा पदार्थ पिना चोकर भुस निर्यात भएको छ ।