images
images

कक्षा ५ मा पढ्दै गर्दा प्रेम विवाह भएपछि...

कक्षा ५ मा पढ्दै गर्दा प्रेम विवाह भएपछि...

बिहिवार, फागुन १५ २०८१
बिहिवार, फागुन १५ २०८१
  • images
    images
    कक्षा ५ मा पढ्दै गर्दा प्रेम विवाह भएपछि...
    images
    images

    पाल्पा / माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा प्रेम विवाह भयो । अहिले उनी २४ वर्षकी भइन् । उनको काखमा एक वर्षको छोरा छन् । 

    images
    images

    विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा जर्घा बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आएकी छन् । कक्षा ५ मा पढ्दै गर्दा उनको विवाह भएको हो । 

    जिल्लाकै निस्दी गाउँपालिका मित्यालकी शान्ती सारुको १३ वर्ष हुँदा मागी विवाह भयो । अहिले उनी २२ वर्षकी भइन् । 

    सारुका चार वर्षका छोरा छन् । उनलाई अहिले सानैमा विवाह भएकोमा पछुतो छ । उमेर नपुगी विवाह भएकाले उनले आफ्ना धेरै चाहनालाई मनभित्रै खुम्च्याउनु परेको छ ।

    उनी जस्तै जिल्लाका धेरै किशोरी आमा बनेका छन् । तराईमा व्याप्त रहेको भनिने बालविवाह पहाडी क्षेत्रमा पनि कम छैन ।

    पढ्ने उमेरका यी किशोरीको काखमा छोराछोरी, टाउकोमा सिन्दुर, गलामा पोते र हातमा राता चुराले भरिने गरेका छन् । अधिकांश बालिका विवाह गरेको एक÷डेढ वर्षमै गर्भवती हुने गर्दछन् ।

    जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कअनुसार जर्घा र सारुजस्तै पाल्पाका गर्भवती महिलामध्ये करिब १३ प्रतिशत बिहे गर्नका लागि नेपालको कानुनले तोकेको न्यूनतम् उमेर २० वर्षभन्दा कमका छन् । 

    बितेका तीन आर्थिक वर्षमा कूल १३ हजार ९९८ गर्भवती महिलामध्ये एक हजार ७८१ जना २० वर्ष मुनिका अर्थात् १२ दशमलव ७२ प्रतिशत थिए । 

    स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलका अनुसार स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न जाने महिलाको उमेर हेर्दा यो अवस्था देखिएको हो । कति गर्भवती स्वास्थ्य संस्थामा नआएका हुनसक्ने भएकाले यो मात्रा बढ्न सक्ने पोखरेलले बताए । 

    विगत तीन आववर्षमा भएका गर्भवतीमध्ये उमेर नपुगेका निस्दी गाउँपालिकामा सबैभन्दा बढी अर्थात् २५ प्रतिशत थिए । 

    तिनाउ गाउँपालिकामा २३, माथागढी गाउँपालिकामा २१, रैनादेवी छहरा गाउँपालिकामा १९, रामपुर नगरपालिकामा १५, रिब्दीकोट गाउँपालिकामा १४, पूर्वखोला गाउँपालिकामा १३, रम्भा गाउँपालिकामा ११, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकामा आठ प्रतिशत किशोरी आमा बनेका हुन् । 

    यहाँका स्थानीय तहले बालबालिकाका क्षेत्रमा कार्यक्रम तय गरेका त छन् तर ती सबै असफलजस्तै भएका छन् । बालबालिकाका नाममा यहाँका पाँचवटा पालिकाले तीन करोड आठ लाख रुपैयाँभन्दा बढी बजेटसमेत खर्च गरेका छन् तर उपलब्धी भने शून्य जस्तै छ । 

    २०७७ साल चैतमा लुम्बिनी प्रदेशमै पहिलो ‘बालमैत्री’ गाउँपालिका घोषणा गरेको बगनासकाली गाउँपालिकाले अहिलेसम्म ‘बालमैत्री’ कार्यक्रमका लागि एक करोड १९ लाख ५० हजार रुपैयाँ बजेट खर्च गरिसकेको भए पनि यहाँ बालविवाह रोकिएको छैन । 

     ग्रामीण क्षेत्रमा अझैपनि बालविवाह कायमै छ । रैनादेवी छहरा गाउँपालिकाभित्र पनि बालविवाह हुने गरेको छ । यहाँ जनजाति, दलित, ब्राह्मण, क्षेत्रीको बसोबास छ । जनजाति, दलित समुदायभित्र करीब ४० प्रतिशत उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने गरेको गाउँपालिकाले जनाएको छ । 

    बालविवाह अन्त्यगर्नका लागि रिब्दीकोट गाउँपालिकाले खासै चासो देखाएको छैन । पूर्वखोला गाउँपालिकामा बालविवाहको अवस्था अत्यन्त चुनौतिपूर्ण रहे पनि त्यसलाई घटाउन सकिएको छैन । पालिका अध्यक्ष नुनबहादुर थापाले विगतदेखि नै बालविवाहले जरा गाडेकाले त्यसलाई घटाउन  चुनौती रहेको बताए । 

    यहाँ बसोवास गर्ने करिव ८० प्रतिशत मगर समुदायमा छिटै विवाह गर्ने परम्परा हट्न नसक्दा बालविवाह न्यूनीकरणमा अप्ठ्यारो परेको अध्यक्ष थापाले स्वीकारे । 

    परिपक्व नहुँदै विवाह गरेका किशोरकिशोरीको जीवन कष्टकर बन्न थालेको छ । निस्दीको सरस्वती माविका प्रधानाध्यापक प्रदीप अर्यालले समाजले कम उमेरमा हुने विवाहलाई सहजै मान्यता दिँदा समस्या भइरहेको बताए । 

    बालविवाह कानुनीरूपमा अपराध भएकाले सरकारी र गैरसकारी तवरबाट जनचेतना जगाउने विभिन्न कार्यक्रम गरिए पनि रोक्न सकिएको छैन । अधिवक्ता शिवप्रसाद देवकोटाले जिल्लामा आउने  मुद्दामा बालविवाह पनि रहेको बताए। 

    उनले बालबालिकामा स्वास्थ्य समस्या, मानसिक समस्या, आर्थिक समस्या निम्तिने भएकाले यसलाई रोक्नु सबैको दायित्व भएको बताए । 

    कम उमेरमा विवाह गर्दा पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वास, गरिबी तथा विभेद, कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्नुजस्ता कारण बालविवाह हुने गरेको छ । 

    बालविवाहका कारण शारीरिक, मानसिक रोगको शिकार, घरेलु हिंसा तथा विभेदमा वृद्धि, कम उमेरमा बच्चा जन्माउँदा आमा र शिशु दुवैको मृत्यु हुने खतरा, विवाहपछि पढाइ बिग्रनेजस्ता समस्या देखिएको छ।

    बालविवाह परम्परागत संस्कृति र जातीय व्यवस्थासँगै जोडिएको विषय भएकाले त्यस्ता कुसंस्कार हटाइनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार