काठमाडौँ / सांसद प्रकाशशरण महतले लगानीमा अहिले पनि समस्या रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा बुधबार भएको छलफलमा बोल्दै उनले लगानीको वातावरणका लागि कानुनले बाधा सिर्जना गरेको बताए।
“त्यसकारण लगानी आउन सकेको छैन । यस्ता कानुन सरकारले संशोधन गरिनुपर्छ,” सांसद महतले भने– “अन्तर्राष्ट्रिय लगानीको प्रतिस्पर्धा ठुलो छ । सबै नेपालमै लगानी गर्न आउँछन् भन्ने छैन त्यसैले सहज वातावरण बनाउनुपर्छ ।”
कन्ट्रिरेटिङको प्रावधानले विदेशी लगानीकर्तालाई लगानी गर्ने वातावरण सिर्जना गरिदिएको उनको भनाइ छ । यसैगरी गाजा र घरेलु मदिराको ब्रार्ण्डिङ गर्दा राजस्व सङ्कलनमा सुधार हुनकासाथै देशमा रोजगारी सिर्जना हुने बताए ।
“गाजा र घरेलु मदिराको ब्राण्डिङ गर्ने कुरा अहिलेसम्म अड्किएको छ। हाम्रो देशमा सहज उत्पादन गर्न सकिने अवस्था छ तर कानुनी प्रावधान हटाएर छिटोभन्दा छिटो सहज बनाउनुपर्छ,” उनले भने, “यसका लागि कानुनी रूप चाँडै दिन जरुरी छ ।”