काठमाडौँ / देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रूपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्त्व छ ।
राजा त्रिभुवनले उद्घाटन गरेको कलेजको संरचना २०७२ सालमा आएको भूकम्पले तहसनहस बनाएको थियो । पुरातात्त्विक र मौलिक सम्पदाका रूपमा परिचित कलेज ढिलागरी पुनर्निर्माणको चरणमा छ ।
यतिबेला त्रिचन्द्रका क्षतिग्रस्त भवनहरूको प्रवलीकरण भइरहेको छ । ०७२ सालमा आएको भूकम्पले क्षतिग्रस्त बनाएको क्याम्पस अबको आठदेखि १० महिनासम्म पुनर्निर्माणको काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । १९७५ भदौ १२ मा स्थापना भएको उक्त कलेज भूकम्पले क्षतिग्रस्त भएको थियो ।
२०७८ सालमा ३६ करोड ४० लाख ३८ हजार २ सय ८६ रूपैयाँ बजेटमा पुनर्निर्माणको जिम्मा लिएको न्यू टेक्निकल इन्फा प्राइभेट लिमिटेडले अबको आठदेखि नौँ महिनाभित्र भवन पुनर्निर्माण सम्पन्न हुने गरि काम गरिरहेको इन्जिनियर शुसिल थापाले बताए । अहिले क्याम्पसको पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको उनले बताए ।
उनले भने, “पुनर्निर्माणको समयसीमा पुस २ गते सकिँदैछ । तर अबको आठदेखि १० महिनाभित्र क्याम्पसको भवन निमार्णको कार्य सकिनेछ । नयाँ कार्यहरू गर्दै जाँदा फाउण्डेसनदेखि लिएर रिभाइज गर्दै जानुपर्ने हुन्छ । घण्टाघर र त्रिचन्द्र क्याम्पस आफैँमा एउटा सेपरेट हुनुपर्ने भनेर डिजाइन भएको थियो । पहिलाकै डिजाइनमा काम गर्दै जाँदा बिल्डिङको पुरानो संरचनालाई पुनः डिजाइन गर्नुपर्यो ।”
साथै उनले ग्राउण्ड फ्लोर भन्दा माथिको हकमा अहिले घण्टाघरलाई रेड्रोफिट गर्नको लागि एक हप्ता अगाडि मात्र रि–डिजाइनले मान्यता पाएको बताए । साथै इन्जिनियर थापाले पुरानै डिजाइनमा कलेज पुनर्निर्माण भइरहेको बताए ।
पछिल्लो समय भवनमा पूरै काम थपिएको छ । समय अवधिमा निर्माण हुन नसक्दा सबैभन्दा बढी विद्यार्थीहरूको पढाइमा असर परिरहेको थापाको भनाई छ । उनले कलेजमा कक्षाकोठा सञ्चालन गर्नको लागि कलेज प्रशासनलाई समेत असर परिरहेको बताए ।
उनले भने, “पछिल्लो समय भवनमा हवासको पूरै काम थपिएको छ । समय अवधिमा निर्माण हुन नसक्दा सबैभन्दा बढी विद्यार्थीहरूको पढाइमा असर परिरहेको छ । कलेजमा कक्षाकोठा सञ्चालन गर्नको लागि कलेज प्रशासनलाई समेत हम्मेहम्मे परिरहेको अवस्था छ । तर निर्माणको काम गर्दै जाँदा विभिन्न कारणले डिजाइनहरू रिभाइज हुन्छन् । पुनर्निर्माण गर्दा नयाँ बिल्डिङ बनाएजस्तो सजिलो हुँदैन । हरेक कुराहरू स्टेबबाइ स्टेब गर्नुपर्छ । नयाँ कुराको फड्को मार्दै जानुपर्छ । त्यस कारणले लगभग ७० प्रतिशत मात्र काम गर्न सफल भएका छौँ ।”
उनले फलामको कामहरूमा बढी समय लागेको उनले जानकारी दिए । उनले बिचमा धेरै बाधाहरू आएकाले पनि काम समयमै गर्न नसकिएको बताए ।
साथै कलेज जस्तो संवेदनशिल विषयमा कुनै निकाय र संस्थाले ढिलो गर्छु भनेर गर्ने काम यो नभएको बताए । उनले जति पनि रेट्रोफिट भएका बिल्डिङहरू समयमै निर्माण अहिलेको अवस्थामा गाहे भएको बताए ।
साथै पुनर्निर्माणका क्रममा क्याम्पसमा कुनै पनि डिजाइन परिवर्तन नहुने बताए । उनले पुरानै डिजाइनमा क्याम्पसको पुनर्निर्माणको काम सम्पन्न गरिने बताए ।
यसैगरी नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता गोविन्द कोइरालाले भवन पुनर्निर्माणका लागि आफूहरूले धेरै दबाब दिएर मात्र पुनर्निर्माणको काम सफल चरणमा पुगेको बताए ।
उनले क्याम्पसका ऐतिहासिक भवनहरू पुनर्निर्माणमा दबाव दिने उद्देश्यले ‘सेभ त्रिचन्द्र’ अभियान नै चलाएएर भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।
उनले भने, “कलेजको पुननिर्माण एउटा ऐतिहासिक काम पनि हो र अति आवश्यक कुरा पनि हो । २०७२ सालको भूकम्पपछि यहाँ रेड स्टीकट लगाइएको थियो तर पनि पढाइ भने चलि नै रहेको थियो । त्यस्तो भवनमा भित्ताबाट पानी चुइने, इट्टाहरू खस्ने र विद्यार्थीहरू घाइते हुने खालको समस्या थियो । त्यस्तो ठाउँमा पनि बस्नुपर्ने अवस्था किन आयो भने हामीसँग अर्को भवन थिएन र धेरै विद्यार्थी भएको कलेज पनि भएको हुनाले हो । धेरै प्रयास गर्दा पनि ०७८ सालसम्म आउँदापनि सरकारको ध्यान दिएन । सरकारको ध्यान भ्यू टावर बनाउने, ठूला ठूला भवन बनाउने तर शैक्षिक संस्थाहरूमा ध्यान नगएको कारणले गर्दा २०७८ सालमा हामी आफैँले नेतृत्व गरेर नेपाल विद्यार्थी संघको तर्फबाट दबाब सिर्जना गरेका हौँ ।”
साथै उनले पहिला क्याम्पसको पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुन निर्माण प्राधिरणले लिएको बताए । जिम्मा लिए पनि क्याम्पसको पुनर्निर्माणमा सरकारको ध्यान नगएकै कारण यो संस्था खारेज हुन पुगेको बताए ।
यसैगरी उनले यसरी सरकार र शिक्षामन्त्रीको ध्यान नजाँदा आफूहरूले २०७८ सालको चैत्रबाट कडाइका साथ अभियान चलाएका थियौँ ।
उनले निरन्तरको प्रयास र पाँच महिना निरन्तर विद्यार्थीहरूको आन्दोलनले नै कलेज पुनर्निर्माण हुन सक्षम भएको बताए ।
उनले भने, “पहिला क्याम्पसको जिम्मा प्राधिकरणले लिएको थियो । हामीले प्राधिकरणलाई धेरै पटक चिठी लेख्ने विज्ञप्तिमार्फत दबाब बढाउने काम गरेका थियौँ । पछि त्यो संस्था खारेज भयो । त्यसपछि शिक्षा मन्त्रालय अन्तर्गत गयो । तर शिक्षा मन्त्रीलाई भेटेर धेरै प्रयासहरू गर्यौँ तर सफल हुन सकेनौँ । त्यसपछि सरकारको नै ध्यान खिच्नको लागि ०७८ सालको चैत्रबाट यो कामलाई अलि कडाका साथ लाने प्रयास गरेका थियौँ । पाँच महिना निरन्तर आन्दोलनहरू गर्यौँ । यति गर्दा पनि सरकारले विद्यार्थीहरूको आवाजलाई कमजोर सोचेको थियो । तर अन्त्यमा निरन्तरको आन्दोलन र दबाबले गर्दा ०७९ सालको भाद्रमा कलेजको ठेक्काको लागि आह्वान भयो । सरकार पनि बाध्य भएर बजेट दियो र ०७९ सालको मंसिरबाट काम सुरु भएर अहिलेको अवस्थासम्म पुगेको छ । यसको ठेक्का ५४ करोडको सिलिङ्मा सुरु भएको थियो ।”
उनले पुनर्निर्माणको लागि तोकिएको समय दुई वर्षको भए पनि अहिलेसम्म भवन निर्माणको काम सम्पन्न नहुँदा विद्यार्थीहरूलाई अप्ठयारो परिहेको बताए । उनले विद्यार्थीहरूको सङ्ख्या धेरै भएकाले बिहान, दिउँसो र बेलुका गरेर नयाँ भवनले थाम्न नसक्ने अवस्था रहेको बताए ।
उनले भने, “यसको पुनर्निर्माणको लागि सुरुमा तोकिएको समय दुई वर्ष हो । जुन समय लगभग सकिने अवस्थामा छ । काम भएकै छ तर यो कलेजको विद्यार्थीहरूको सङ्ख्या र हाम्रो अप्ठयाराहरू अझै छ । भवन छिटो बनोस भन्ने हो । अबको ६ महिनामा निर्माण पूर्ण हुनेजस्तो छ । निर्माण ढिलाइ हुँदा विद्यार्थीहरूको सङ्ख्या धेरै छ । हामीले बिहान, दिउसो र बेलुकी गरेर पनि थाम्नसक्ने अवस्था छैन् । दबाब नदिएको भए अहिले भइरहेको पढाइ हुन पनि गा-हो नै हुन्थ्यो । क्याम्पस प्रशासन पनि दबाबले गर्दा चलिरहेको छ । तर विद्यार्थीहरूलाई यस्तो अवस्थामा पढ्न समस्या नै भइरहेको छ ।”
साथै नेता कोइरालाले भवन हाम्रो इतिहास भएकाले पुरानै शैलीमा निर्माण भइरहेको बताए । उनले नयाँ भवनमा इतिहास मेटिनु राम्रो कुरा नभएको बताए ।
उनले भने, “यो भवन भत्किएपछि कि यतिकै छोड्न हो, होइन भने पूरानै तरिकाले बनाउनुपर्छ । पुरानै तत्वहरूले बन्नुपर्यो, नयाँ सामग्रीहरू प्रयोग गर्न पाईंदैन् । भवन छिटो बन्नुपर्यो, दोस्रो कुरा पुरानै तरिकाले बन्नुपर्यो । इतिहास मेटिनु भएन् । थप बजेट चाहिन्छ भने सरकारले त्यसमा काम गर्नुपर्छ । क्याम्पस प्रशासन कक्षाहरू मिलाउनमा नै व्यस्त छ, उहाँहरूले यसमा ध्यान दिन सकेको जस्तो छैन । यस्तो बेला विद्यार्थी सङ्गठनहरूले त्यस्तो विषयलाई हेर्ने हो । तर अहिले विद्यार्थी युनियनहरूको चुनाव गर्न नपाएको हुनाले पनि समस्या आएको छ । हामी अभियन्ता भएको हुनाले यस विषयमा निरन्तर रूपमा निगरानी गरिरहेका छौँ ।”
१२ भदौ १९७५ मा स्थापना भएको त्रिचन्द्र क्याम्पस जसको पूरानो नाम त्रिभुवन–चन्द्र कलेज हो । त्रिभुवन–चन्द्र कलेज नाम जुराएर १२ भदौ १९७५ मा कलेज स्थापना भएको थियो ।
२७ असोज १९७६ मा राजा त्रिभुवनले उद्घाटन गरिएको क्याम्पस १९८१ मा आइपुग्दा नयाँ नाम त्रिचन्द्र बहुमुखी क्याम्पस हुन पुगेको जानकारहरू बताउँछन् ।
क्याम्पसका क्षतिग्रस्त संरचनाहरूको पुनःनिर्माण चाँडो हुनु परेपनि बजेट ढिला आउँदा काम सुस्त भएको विद्यार्थीहरूको भनाइ छ । विडम्बना, त्रिचन्द्र सधैँ उपेक्षित भयो ।
एक शताब्दी इतिहास बोकेको नेपालमा उच्च शिक्षाको पहिलो प्रतिष्ठानका रूपमा रहेको क्याम्पसबाट प्रधानमन्त्री, मन्त्री, शासक प्रशासक साथै लब्धप्रतिष्ठित व्यक्तिहरू उत्पादन भइसकेका छन् ।
बरिष्ठ चिकित्सक डा.मधु घिमिरेको अगुवाइमा त्रिचन्द्रलाई पनि ‘एकेडेमिक भिलेज’का रूपमा विकास गर्ने अभियान सुरु गरिए पनि पूरा हुन सकेको छैन् । भवनको मौलिकता र पुरातात्विक सौन्दर्यता साथै भव्यतालाई जोगाउँदै नयाँ संरचना निर्माण गर्दै शैक्षिक हबका रूपमा विकास गर्ने पूर्व विद्यार्थीको अभियान सुस्ताएको छ ।
त्रिचन्द्रको आरम्भलाई नेपाली समाजमा आधुनिक चेतनाको उद्घोष विन्दु मानिन्छ । क्याम्पसमा हाल १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
एक शताब्दीअघि भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर उच्च शिक्षाको सुरुवात गरिएको क्याम्पस १९७६ मा तत्कालीन राजा त्रिभुवनले चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर गरिएको थियो । करिब १४ महिना लगाएर ढुङ्गा, इँटा, चुना, सुर्ती, काठ, फलाम जस्ता सामग्री प्रयोग गरी क्याम्पसको निर्माण गरिएको भनाइ छ ।
भुतपूर्व विद्यार्थीहरूको अगुवाइमा त्रिचन्द्र बचाउने अभियानको थालनी भएको थियो । डा.मृगेन्द्रराज पाण्डे, डा.मधु घिमिरे, केदारभक्त माथेमा, प्राडा आमोदमणि दिक्षित, सुरेशराज चालिसे, प्रकाशचन्द्र लोहनी, बसन्त लोहनी, दमननाथ ढुङ्गाना, ज्ञानेन्द्रराज तुलाधर, किशोर नेपाल, किशोर थापालगायतले मास्टरप्लान बनाएर इतिहास जगेर्ना गर्नुपर्ने दबाब बढाउँदै आइरहेका छन् ।
आकांक्षा धामी/ नेपाल न्यूज बैंक